काठमाडौं, फागुन २५ । करिव १३ बर्षपछि बाराका पत्रकार विरेन्द्र साहका मुख्य हत्या अभियोगी पक्राउ परेका छन्। दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्यारा कारागार चलान भएको केही दिनपछि पत्रकार विरेन्द्र शाहका हत्यारा पक्राउ परेका छन्।
बाराका पत्रकार विरेन्द्र साहको हत्या अभियोगी कुन्दन भनिने नरेन्द्र फौजदारलाई मानिदै आएको थियो। उनी मुख्य दोषि भएको बताउँदै आएपनि पक्राउ गरिएको थिएन। तर आइतवार राति उनलाई घरबाटै पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ। बारागढी गाउँपालिका ५ स्थित घरमा लुकेर बसिरहेको अवस्थामा फौजदारलाई पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
वारा जिल्ला अदालतले उनलाई दोषि ठहर गरिसकेको थियो। अदालतले दोषि ठहर गरेपनि पक्राउ परेका थिएनन्। तर प्रहरीले उनलाई पक्राउ गरेको छ। २०६४ साल असोजमा तत्कालिन माओवादीका कार्यकर्ताहरूले साहको अपहरण गरि हत्या गरेका थिए।


























