काबुल, फागुन २४ । अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार ठूलो आक्रमण भएको छ। शुक्रबार काबुलमा बन्दुकधारीहरुले एक कार्यक्रममा गोलाबारी सुरु गरेका थिए। जसमा कम्तिमा पनि ३२ जनाको मृत्यु भएको छ। कैयौँ मानिसहरु घाइते भएका छन्। प्रहरीको जवाफी कारबाहीमा हमलाकारीको पनि मृत्यु भएको छ।
यो हमलामा अफगानिस्तानका मुख्य कार्यकारी अधिकारी (सीईओ) अब्दुल्ला अब्दुल्ला मुस्किलले बचेका छन्।
आतंककारी संगठन आईएसले यो हमलाको जिम्मेबारी लिएको छ। तालिबानले भने यो हमलामा आफ्नो हात नरहेको जनाएको छ। आईएसले अल्पसंख्यक शियाविरुद्ध युद्दको घोषणा गरेको छ। जुन कार्यक्रममा गोलाबारी भयो त्यहाँ अधिकांश शिया थिए।
यो कार्यक्रम अफगानिस्तानमा शिया हाजरा नेता अब्दुल अली मजारीको पुण्यतिथिका अवसरमा आयोजना गरिएको थियो। मजारीको यसै दिन तालिबानले सन १९९५ मा हत्या गरेको थियो।
यो कार्यक्रममा अफगानिस्तानका सीईओ अब्दुल्ला अब्दुल्ला समेत थुप्रै दिग्ग्ज नेताहरु सहभागी थिए। अब्दुल्ला अब्दुल्ला अफगानिस्तानका विपक्षका नेता हुन्।
यसअघिको राष्ट्रपति चुनावमा उनले अशरफ गनीलाई कडा टक्कर दिएका थिए। हो हमला भन्दा केहीबेर अघि नै त्यहाँबाट अब्दुल्ला अब्दुल्ला समेत अन्य केही नेताहरु निस्केका बताइएको छ।


























