पेरु, फागुन २२ । संयुक्त राष्ट्र संघका पूर्वमहासचिव तथा पेरुका पूर्वप्रधानमन्त्री ह्याभियर पेरेज डी कुइलरको निधन भएको छ।
१०० वर्षको उमेरमा उनको पेरुमै बुधबार निधन भएको छ। इराक–इरान युद्ध र एल साल्भाडोरको गृहयुद्धका बेला संयुक्त राष्ट्र संघको नेतृत्व सम्हालेका ह्याभियरको बुधबार पेरुमै मृत्यु भएको बीबीसीले जनाएको छ।
उनी संयुक्त राष्ट्र संघका पाँचौ महासचिव हुन्। सन् १९८१ मा पहिलो पटक संयुक्त राष्ट्र संघको महासचिव बनेका ह्याभियर सन् १९८६ मा पुनः महासचिवमा निर्वाचित भएका थिए।
आफ्नो दुई कार्यकालका अवसरमा उनले थुप्रै शान्ति सम्झौता र शान्ति स्थापनाका प्रयासहरु गरेका थिए।
फकल्यान्डको युद्धपछि उनले बेलायत र अर्जेन्टिनाबीच शान्तिवार्ताको मध्यस्थताको नेतृत्व गरेका थिए। त्यस्तै नामिबियाको स्वतन्त्रतताका लागि पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
सन् १९८८ मा भएको इराक–इरानबीचको युद्धविराममा पनि उनको महत्वपूर्ण योगदान रहेको थियो। सन् १९८८ मा उनकै कार्यकालमा मोजाम्बिक र अंगोलामा खटिएका राष्ट्रसंघीय शान्तिसेनालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
सन् २०००को नोभेम्बर २२ देखि सन् २००१ को जुलाई २८ सम्म उनी पेरुको प्रधानमन्त्री रहेका थिए।


























