काठमाण्डौं, पुस २५ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेकी छन्। उपसभामुख तुम्बाहाङफे संसद सञ्चालन तथा सभामुख निर्वाचनबारे सत्तारुढ दलसँग छलफल गर्न बालुवाटार पुगेकी हुन्।
उपसभामुखले सत्तारुढ दलका अध्यक्षसँग छलफल आयोजना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। यसअघि रिक्त सभामुख पदमा कसले उम्मेदवारी दिने भन्नेमा सत्तारुढ दलभित्र एकमत नहुँदा प्रतिनिधि सभा बैठक पटकपटक सर्दै आएको थियो।
प्रतिनिधि सभाको अर्को बैठक पर्सी आइतबारका लागि बोलाइएको छ। पटकपटक संसद बैठक स्थगित हुँदा त्यसको राम्रो सन्देश नजाने भन्दै उपसभामुख तुम्बाहाङ्फेले सदन सुचारु गर्न सत्तारुढ दलका नेता र प्रधानमन्त्रीसँग छलफल आयोजना गरेको उपसभामुखको सचिवालयले जनाएको छ।
सत्तारुढ दल नेकपाले सभामुखको रिक्ततापछि आफ्नै पार्टीका तर्फबाट सभामुखमा उम्मेदवारी दिने भनेपनि कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन। सत्तारुढ दल उपसभामुख तुम्बाहाङ्फेलाई समेत राजीनामा गर्न लगाएर उपसभामुखमा अन्य पार्टीलाई प्रस्ताव गर्ने पक्षमा छ। तर उपसभामुख तुम्वाहाङ्फे आफै पनि सभामुखका लागि दावी पेश गर्दै आएकी छन्।
उपसभामुख तुम्बाहाङ्फेले आजै राजीनामा गर्नसक्ने सम्भावना रहेको छ।