चितवन, पुस २५। आज शुक्रबारदेखि चितवनको रत्ननगरस्थित टिकौली चौरमा रत्ननगर महोत्सव सुरु भएको छ। ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ यही पुस २५ देखि माघ ७ गतेसम्म रत्ननगर उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो।
चितवनको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवर्द्धन गर्दै चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवर्द्धन र सम्वर्द्धनमा रत्ननगर महोत्सवले विशिष्ट र दुरगामी महत्त्व बोकेको महोत्सव मूल आयोजक समितिका संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले बताए।
प्रत्येक दुई वर्षमा आयोजना गरिने महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीलाई विषेश महत्त्व दिइएको छ। महोत्सव अवधिभर व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिंचाई प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, प्लान्ट क्लिनिक, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई जोड दिइएको अध्यक्ष रेग्मीले बताए।
महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर हुनेछन्। महोत्सवलाई सुरक्षित बनाउन सिसिटिभी क्यामेराबाट निगरानी गरिने आयोजकले जनाएको छ।
सो महोत्सवमा विशेष आकर्षणका लागि पछिल्लो समय चर्चामा रहेको जीपलाइनसमेत खेल्न पाउने व्यवस्था गरिएको छ। स्वदेशी तथा विदेशी गरी महोत्सवमा ५२१ वटा स्टल रहनेछन्। ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्ने अपेक्षा लिइएको महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले महोत्सवको उद्घाटन गर्ने जनाइएको छ । महोत्सवको उद्घाटन पूर्व नेपाल मा.वि को परिसरबाट विभिन्न सांस्कृतिक झाँकी सहितको शोभायात्रा निकालिने आयोजकले जनाएको छ ।