पोखरा, ०९ मंसिर। समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशको वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी आएको बताएका छन्।
कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उप–निर्वाचनको प्रचारप्रसारका क्रममा सोमबार पोखरा महानगरपालिकाको वडा नं १५ र १७ मा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले देशमा पुराना पार्टीले पटक–पटक जितेर पनि उही पुरातन सोचबाट बाहिर ननिस्किएका कारण समाजवादी पार्टीे नयाँ सोचका साथ राजनीतिमा आएको बताएका हुन्।
जनताका आशा एवं अपेक्षालाई समाजवादी पार्टीले पूरा गर्ने बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले कास्की क्षेत्र नं २ मा पार्टीका उम्मेदवार धर्मराज गुरुङलाई जिताएर देशका निम्ति नयाँ सन्देश दिन आग्रह गरे।
चुनाव प्रचारप्रसारकै क्रममा पोखरा महानगरपालिका वडा नं १६ अर्मला पुगेका समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले देशविदेशमा प्राप्त अनुभवलाई राजनीतिमार्फत संसद्मा पुगी आफ्नै देशमा उपयोग गर्ने बताए। जनताले मौका दिए काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्दै उनले मतदाताहरूसँग जालझेल र झुठको राजनीति कहिल्यै नगर्ने विश्वास व्यक्त दिलाए। व्यक्तिलाई गाली गर्नुभन्दा राजनीतिलाई सफा गराउने काम जनताले नै गर्नुपर्ने उनको भनाइ छ।