काठमाडौं, २७ असोज। जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा)का नेता तथा सांसद प्रमोद साहलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओखलढुङ्गा जान लागेका बेला साहलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।
पक्राउ लगत्तै शाहलाई मंगलबारै जनकपुर पठाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। जहाज उडाउन ढिलार्इ गरेको भन्दै साहले सोमबार बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको प्रहरीले जनाएको छ। साह सर्लाही क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हुन्। राजपाले भने पक्राउको विरोध गरेको छ।
सांसद साहको रिहार्इको माग गर्दै राजपा जिल्ला कार्यसमिति सर्लाहीले सदरमुकाम मलङ्गवामा विरोध प्रदर्शन गरेका छन्। राजपा पार्टी कार्यालयबाट सुरू भएको विरोध प्रदर्शनमा सहभागी नेता, कार्यकर्ताले बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि पुगी नाराबाजीसमेत गरेका थिए। – रासस