काठमाडौं, २८ असोज। गैर आवासिय नेपाली संघ (एनआरएनए)को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारदेखि काठमाडौंमा सुरू हुँदैछ। विदेशिएका नेपालीहरूको हक–हितका लागि स्थापना भएको संस्थाको महाधिवेशन असोज ३० गतेसम्म चल्नेछ।
महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको संघले जनाएको छ। महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भइसकेको एनआरएनएका वर्तमान उपाध्यक्ष कुल आचार्यले जानकारी दिए। दुईवर्षे कार्यकालको लागि नयाँ कार्यसमिति ल्याउन महाधिवेशन गर्न लागेको हो।
सिटभन्दा आकांक्षी बढी
एनआरएनएमा अध्यक्षसहित कुल १२ पद छन्। यी पदहरूमा ४२ जना निर्वाचित गर्नुपर्ने विधानमा व्यवस्था छ। तर, सीमित पदहरूमा धेरैले आकांक्षा देखाउने गरेपछि अघिल्ला महाधिवेशनदेखि नै एनआरएनएमा रोचक चुनावी भिडन्त हुने गरेको छ। यसवर्ष पनि विगतझैं कडा प्रतिस्पर्धा हुने संभावना बढ्दै गएको छ।
अध्यक्ष पदका लागि यसपटक हालका दुई उपाध्यक्ष कुमार पन्त र कुल आचार्य मैदानमा छन्। पन्त वाम र आचार्य प्रजातान्त्रिक निकट मानिन्छन्। दुवैले नयाँ नेतृत्वका लागि आफू योग्य भएको दाबी गर्दै चुनावी माहोल आफ्नो पक्षमा पार्न प्रचार तीव्र पारेका छन्।
उपाध्यक्षमा एक महिलासहित ५ उम्मेदवार एनआरएनएले छनोट गर्नुपर्नेछ। यसअघि प्रायः सहमतिमा यी पद पूर्ति हुने गरे पनि यसपटक अध्यक्षको तुलनामा बढी आकांक्षी देखिएका छन्। उपाध्यक्षका लागि आकांक्षीहरूले उम्मेदवारी घोषणा गरिरहे पनि खासगरी डा. बद्री केसी, सोनाम लामा, रवीना थापा, डा. केशव पौडेल, नरेन्द्र भाट, हिक्मत थापा, अर्जुनकुमार श्रेष्ठबीच कडा टक्कर पर्ने अनुमान गरिएको छ।
पन्तको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका नुवाकोट तारुकाका धर्मराज अधिकारीलाई पनि बलिया उम्मेदवारका रूपमा हेरिएको छ। महाधिवेशनले १ महासचिव, २ सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १÷१ जना निर्वाचित गर्नेछ। यी पदमा पनि धमाधम उम्मेदवारी घोषणा भइरहेका छन्।
प्रत्येक क्षेत्रीय समितिबाट एक÷एक गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन्। त्यसैगरी, क्षेत्रीय उप–संयोजकअन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने एनआरएनएले जनाएको छ। विधानबमोजिम युरोपमा ३ जना क्षेत्रीय उप–संयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ।
त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २÷२ जना क्षेत्रीय उप–संयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १÷१ जना क्षेत्रीय उप–संयोजक चयन हुनेछन्। प्रत्येक क्षेत्रबाट १÷१ जनाका दरले ६÷६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने समितिले जनाएको छ।
महाधिवेशनको लागि प्रतिनिधिजति काठमाडौंमा
विभिन्न पेसा–व्यवसायको सिलसिलामा ८० लाख नेपाली देश बाहिर रहेको अनुमान छ। एनआरएनएमा विश्वका विभिन्न देशमा पुगेका यिनै नेपालीहरू संगठित छन्। आफ्नो छाता संगठनको सांगठनिक सुदृढीकरण, नयाँ नेतृत्व चयनलगायत महत्त्वपूर्ण निर्णय महाधिवेशनमार्फत हुने भएकाले विदेशमा रहेका नेपालीहरूमा चटारो बढेको छ।
एनआरएनएले सोमबार दिएको जानकारी अनुसार, सम्मेलनमा सहभागिताका लागि २५ सय प्रतिनिधि काठमाडौं आइपुगेका छन्।




















