बागलुङ, ०४ असोज। मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गतको बागलुङ–बुर्तिवाङ खण्डको खहरेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ। बागलुङ नगरपालिका–३ र काठेखोला गाउँपालिका–१ को सिमानामा बग्ने खहरेखोलामा मोटरेबल पुल निर्माण भएपछि सवारी साधन तथा पैदलयात्रुलाई सहज भएको छ।
बर्खाको समयमा बग्ने खहरेखोलाका कारण सवारीसाधन समेत आउजाउ गर्न नसक्ने अवस्थामा रहेको उक्त स्थानमा डेढ वर्षअघि नै पुल निर्माण थालिएको थियो। मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्डमा निर्माण भएका आधा दर्जन पुलमध्ये अन्तिम पुल खहरेखोलामा निर्माण गरिएको आयोजनाका कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिए।
पुल निर्माणसँगै सवारीसाधन तथा पैदलयात्रुलाई यात्रामा सहज भएपछि स्थानीय खुसी छन्। खहरेखोलामा झुलुङ्गे पुलसमेत नहुँदा पैदलयात्रीलाई खोला तर्नुपर्ने बाध्यता थियो। डेढवर्षमा काम सक्ने गरी जयबाबा÷ओखलढुङ्गा/बिएमए निर्माण सेवाले ठेक्कामार्फत पुल निर्माण गरेको हो।
२० मिटर लम्बाइ तथा ११ मिटर चौडाइ रहेको उक्त पुल रु दुई करोड ८९ लाखमा निर्माण गरिएको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि बिमलेश आचार्यले बताए। पुलको डिजाइनमा समस्या भएकोले दस महिनामा सकिने पुल निर्माणमा डेढवर्ष लागेको आचार्यले बताए। पछिल्लो समय मध्यपहाडी पुष्पलाल लोकमार्गले गति लिन थालेको छ ।
आगामी असारसम्म लोकमार्गको बागलुङ खण्ड कालोपत्र गर्नेगरी काम अगाडि बढेको लाकमार्ग आयोजनाले जनाएको छ। अहिले खहरेखोला नजिकैको चट्टान कटानका लागि लोकमार्गको बागलुङ खण्ड दैनिक आठ घण्टा बन्द गरिँदै आएको छ। – रासस