काठमाण्डौँ, २५ भदौ। नेपालको ५६ जिल्लामा डेंगुको संक्रमण भेटिएको पुष्टि भएको छ। सबैभन्दा धेरै चितवनमा देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। तराईका जिल्लाबाट सुरू भएको डेंगु यतिबेला पहाडी जिल्लाहरूमा पनि फैलिन थालेको छ।
कतिपय ठाउँमा भने डेंगुसँगै स्क्रबटाइफसका बिरामी पनि भेटिन थालेका छन्। ‘डेंगु भएको भन्दै अस्पताल आएका बिरामीमा स्क्रबटाइफस भएको पाइएको छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, डेंगु र स्क्रब टाइफसको लक्षण उस्तै हुने भएकोले पनि डेंगु भनेर आउँदा स्क्रबटाइफस देखिएको हो।’
अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, शरीरमा बिमिरा देखिनु, आँखा रातो हुनु, खोकी लाग्नु, पसिना आउनु र ग्रन्थी सुन्निनु स्क्रबटाइफसका लक्षण हुन् भने उच्च ज्वरो आउनु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, टाउको धेरै दुख्नु, खान मन नलाग्नु, जोर्नी तथा मांसपेशी दुख्नु लगायत लक्षण डेंगुको लक्षण पनि हो।
जमेको सफा पानीबाट निस्कने खैरो रंगको पोथी लामखुट्टेको टोकाइबाट डेंगु र झाडी, भकारी, जंगल, घाँसपातमा मुसामा हुने किर्नाको टोकाइबाट स्क्रबटाइफस सर्ने भएकाले घर वरिपरी सरसफाइ गर्न डाक्टर पुनले सुझाव दिए। स्क्रबटाइफसका लक्षण देखिए तत्काल उपचार गराएर डक्सी साइकिलिन एन्टीबायोटिक क्याप्सुल खाए ४८ घण्टामा निको हुने, तर उपचार नगरे ज्यानै जाने जोखिम हुने उनले बताए।
‘समयमा उपचार नगरे ज्वरो बढ्दै गएर मिर्गौला, फोक्सो, मुटु आदी शरीरका महत्त्वपूर्ण अंगमा असर हुँदै पछि श्वासप्रश्वासमा समस्या भएर बिरामीको ज्यानै जान सक्छ,’ उनले भने, ‘त्यसैले शंका लागेमा समयमै उपचार गराउनुपर्छ।’
व्यक्तिगत सरसफाइसँगै घर वरपर सफा राख्नु तथा मुसा, किर्ना, सुलसुलेलगायतका किरा नियन्त्रण गरे यो रोगबाट बच्न सकिने उनको भनाइ छ। रोग सार्ने किरा जाडो र गर्मी महिनाको तुलनामा वर्षा याममा बढी सक्रिय हुने भएकाले वर्षातको समयमा स्क्रबटाइफसका बिरामी बढ्ने सरुवारोग विशेषज्ञ डा. पुनले बताए।
डेंगु लागे प्रशस्त झोलिलो पदार्थ सेवन गर्ने
डेंगु लागेका बिरामीलाई निको पार्ने उपाय भनेकै आराम गर्ने र झोलिलो पदार्थ खुवाउने हो। ‘डेंगुको औषधि उपचार भनेकै घरमै झोलिलो खानेकुरा खाएर आराम गर्ने हो,’ डा पुनले भने, ‘त्यसैले डेंगु लाग्दैमा आत्तिहाल्नु पर्दैन।। अति नै भयो भने पनि सिटामोलको साहरा लिन सकिन्छ।’ सिटामोल बाहेकका औषधि भने चिकित्सकको सल्लाहबिना प्रयोग नगर्न उनले सुझाव दिए।
डेंगु सार्ने ‘एडिस एजिप्टाइ’ जातको लामखुट्टे सफा पानीमा बस्ने तथा मानिसजस्तै बिहान उठ्ने दिनभरी सक्रिय हुने र बेलुका निष्कृय हुने गर्छ। त्यसैले लामखुट्टेको टोकाईबाट बच्न सके डेंगुबाट पनि बच्न सकिने उनले बताए।