विनोद अनुज, १४ साउन २०७६, चितवन। टी-२० विश्वकप खेलको एसियाली छनोटको फाइनल चरणको प्रतियोगिता आयोजना गर्यो सिंगापुरले। पहिलो खेलमै आफूभन्दा बरियतामा १० स्थान तल रहेको कतारसँग अनपेक्षित हार बेहोर्दै प्रतियोगिताको सुरुवात गरेको नेपाली टोलीको अन्त्य पनि सुखद हुन सकेन।
नेपाल प्रतियोगिताको निर्णायक मानिएको खेलमा आयोजक राष्ट्र सिंगापुरसँग हार्न पुग्यो। यो हार मात्रै थिएन, सन् २०२० मा हुने टी-२० विश्वकप क्रिकेटका लागि अष्ट्रेलियासम्म पुग्ने लक्ष्यमा पूर्णविराम लाग्नुसमेत थियो। हार्नुको पीडा एकातिर गहिरो थियो, त्यसमाथि आयोजकको सानो गल्तीका कारण नेपाली क्रिकेट टोलीको यो हारको घाउमाथि नुन पनि थपिएको छ।

टी-२० विश्वकपको ग्लोबल छनोटमा जाने बाटो बन्द भएको अवस्थामा त्यहाँसम्म पुग्न निर्णायक मानिएको खेलमा पराजित भएको भन्दै नेपाललाई उपविजेता घोषणा गरियो। म्याच प्रिजेन्टेसनमा सबै नेपाली खेलाडीलाई उपविजेताको रुपमा मेडल पनि प्रदान गरियो।
तर, जब उपविजेताको ट्रफी उचाल्ने बेला भयो, तब घाउ झन चहराउन थाल्यो। कारण कतारी व्यवस्थापको विरोध। यस सम्बन्धमा कतारको विरोध सही थियो। यसैलाई मध्यनजर गर्दै नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीले सबै खेलाडीको घाँटीमा झुन्डिएको मेडल फुकाल्दै एकमुस्ट रूपमा फिर्ता गरे।
किन फिर्ता गरियो मेडल?
भएछ के भने- नेपालसँगै अंकतालिकामा कतारको पनि समान ४ अंक थियो। तर, समान अंक भए पनि कतारको रनरेट नेपालको भन्दा बढी थियो। वास्तवमा नेपाल तेस्रो नै भएको हो। सिंगापुरका अफिसियलले रनरेटमा ध्यान नदिँदा यस्तो अवस्था आएको हो। किनकी यो प्रतियोगितामा अंकतालिकामा सबैभन्दा माथि रहने टोलीलाई नै विश्वकपको ग्लोबल छनोटमा जानसक्ने गरी नियम बनाइएको थियो। यानेकी प्रतियोगितामा समूह चरणकै खेल निर्णायक हुन्थ्यो। न की विजेता/उपविजेता टुंगो लगाउन समूह चरणको खेलपछि फाइनल खेल नै राखिएको थियो।
अंकतालिकाको सुरुवाती २ स्थानमा रहेका सिंगापुर र नेपाल यसअघिकै तालिकाअनुसार नै अन्तिम खेल खेल्दै थिए। संयोगवश यो नै निर्णायक खेल बन्न पुगेको थियो। सोही आधारमा नै सिंगापुरका अफिसियलहरु झुक्किए। जसको चोट नेपाली टोलीलाई पर्यो।
पछि नेपालसँगबाट मेडल फिर्ता लिइयो र उपविजेताको ट्रफीसहित सबै मेडलहरु कतारलाई हस्तान्तरण गरियो। नेपाली टोलीका लागि भने यो असावधानी हारको घाउमाथि मेडल फिर्ताको नुनजसतै बन्यो।